मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका ३० वर्षीय आदेश कुमार चौधरी पक्राउ परेका हुन्। उनी भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्ला, जोबनीका बासिन्दा हुन्।
सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्काको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले शंका लागेपछि जाँच गर्दा चौधरीको साथबाट ५ लाख १ सय १५ रुपैयाँ बरामद भएको हो।
प्रहरीका अनुसार उक्त रकम उनले आफ्नो कपडाको गोजी र जुत्ताभित्र लुकाएर ल्याएका थिए।
उनको साथबाट भारतीय मोटरसाइकल, एक थान मोबाइल, एउटा घडी र दुई थान सुनजस्तो देखिने औँठीसमेत बरामद गरिएको छ।
बरामद रकमको स्रोत खुल्न नसकेको र सवारी साधनको दर्ता प्रमाणपत्र समेत साथमा नभएकाले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
