सिरहा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रु सुरक्षालाई ध्यानमा राख्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्न निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सिसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो।
जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा सदरमुकाम, लहान र मिर्चैयालगायत क्षेत्रबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीमा यो नियम लागू हुनेछ।
प्रशासनका अनुसार सार्वजनिक यातायातमा हुन सक्ने चोरी, दुर्व्यवहार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी यात्रुलाई सुरक्षित महसुस गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले तोकिएको समयसीमाभित्र सिसीटिभी जडान भए–नभएको अनुगमन यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयमार्फत नियमित रूपमा गरिने जनाएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा निर्देशन पालना नगर्ने सवारीसाधनलाई कानुनी कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ।
