राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनबाट उत्पन्न हुँदै गएको संकटका बीच सांसदहरूको भूमिका अझै महत्वपूर्ण बन्दै गएको बताएका छन्। उनले सांसदहरूले विधायिका, निगरानीकर्ता र जनप्रतिनिधिको रूपमा त्रिआयामिक जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे ।
असंलग्न आन्दोलन संसदीय सञ्जालको पाँचौँ सम्मेलनमा मन्तव्य राख्दै अध्यक्ष दाहालले नेपाल जलवायु परिवर्तनको गम्भीर असरबाट प्रभावित भएको बताए। उनका अनुसार हिमाली वातावरण र मौसम प्रणालीमा आएको परिवर्तनले विनाशकारी बाढीपहिरो र कृषि क्षेत्रमा गम्भीर समस्या सिर्जना गरिरहेको छ।
टर्कीको इस्तानबुलमा जारी सम्मेलनमा उनले प्रभावकारी कार्यान्वयनबिना कानुनको कुनै अर्थ नहुने स्पष्ट पार्दै संसद्ले निगरानीकर्ताको भूमिका सशक्त रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए। कार्यपालिकालाई जवाफदेही बनाउँदै जलवायु अनुकूलन योजनालाई व्यवहारिक र प्रभावकारी कार्यक्रममा रूपान्तरण गर्नुपर्ने बताएकाछन ।
अध्यक्ष दाहालले संसदीय समितिहरूले सार्वजनिक सुनुवाइ गर्ने, पूर्वाधार आयोजनाहरूको जलवायु प्रभाव मूल्याङ्कन गर्ने तथा सार्वजनिक कोषको पारदर्शिता सुनिश्चित गर्ने कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। साथै, जोखिममा रहेका समुदायको आवाज सशक्त बनाउँदै विकास प्रक्रियामा समावेशी र न्यायोचित दृष्टिकोण अपनाउनु संसद्को मुख्य दायित्व भएको उल्लेख गरेकाछन ।
विश्वव्यापी जलवायु चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको पनि बताए। पाँच दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा राष्ट्रिय सभाका सदस्यहरू डा. अञ्जान शाक्य र कृष्णबहादुर रोकायसमेत सहभागी रहेका छन्।
