नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु भएको छ। संघको विधानअनुसार १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि उपत्यका बाहिर आज शुक्रबार र भोलि शनिबार मतदान हुँदैछ भने काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदानको तालिका तय गरिएको छ।
यसपटकको निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्। १९ सदस्यीय कार्यसमितिका लागि तीन समूहबाट कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
उपत्यका बाहिर विराटनगर, धरान, राजविराज, लहान, जनकपुर र वीरगंजसहित देशका विभिन्न २० भन्दा बढी स्थानमा आज र भोलि मतदान भइरहेको छ। तीमध्ये चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, जुम्ला, पाल्पा, हेटौंडा, तनहुँ, रौतहट र काभ्रे लगायतका स्थानमा मतदान केन्द्र तोकिएका छन्।
त्यसैगरी, झापाको दमकमा वैशाख ४ गते मात्र मतदान हुनेछ भने बिर्तामोड र डडेलधुरामा वैशाख ५ गते मात्रै मतदान हुने निर्वाचन समितिले जनाएको छ।
मतदान बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
