उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म १२ अर्ब २२ करोडभन्दा बढीको वस्तु आयात गरेको छ।
भन्सार कार्यालयका अनुसार घरायसी उपयोग र मुस्ताङ घुम्न आउने पर्यटकलाई लक्षित गरी आयात गरिएका सामानको कुल मूल्य १२ अर्ब २२ करोड ७६ लाख पुगेको छ। कार्यालयले गत वर्ष भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सेवा सुरु गरेको थियो।
यस अवधिमा २० करोड ५५ लाख बराबरको वस्तु निर्यात हुँदा ५ अर्ब ७३ करोड ६१ लाख राजस्व संकलन भएको कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार हिमपात र चिनियाँ चाडपर्वका कारण केही समय निकासी–पैठारीमा असर परेको भए पनि भन्सार जाँचपासलाई प्राथमिकता दिइएको छ।
चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला) नाका हुँदै आउने कन्टेनरहरूको संख्या पछिल्ला दिनमा घटेको छ। विशेषगरी रसुवा र तातोपानी भन्सार नाकाहरू सञ्चालनमा आएसँगै छोटो दूरी रोज्ने व्यापारीहरूले ती नाका प्रयोग गर्न थालेपछि कोरलामा चहलपहल घटेको हो।
हालसम्म १८ सय १८ कन्टेनरमार्फत विद्युतीय सवारीसाधन, घरायसी सामग्री, कस्मेटिक्स, विद्युतीय उपकरण, कपडा तथा जुत्तालगायतका सामान आयात भएका छन्। यस्तै, १ सय ३७ कन्टेनरमार्फत नेपालबाट हस्तकला र कपडालगायतका वस्तु तिब्बत निर्यात गरिएको छ।
कोरला नाकाबाट हालसम्म २३ सय ४७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। तर पछिल्लो एक महिनामा एउटा पनि सवारीसाधन आयात नभएको जनाइएको छ।
कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा जाँचपासपछि सामानहरू १ सय ८६ किलोमिटरको कोरला–जोमसोम–बेनी सडक हुँदै पोखरा पुर्याइन्छ।
जाडो घटेसँगै कोरला नाकामा पुनः व्यापारिक गतिविधि बढ्न थालेको छ। मजदुर, चालक र स्थानीय व्यापारीको चहलपहल पनि विस्तारै बढ्दै गएको छ।
समुद्री सतहदेखि ४,६५० मिटर उचाइमा रहेको कोरला नाका सन् १९६० दशकपछि बन्द भएको थियो। चीनले तिब्बत गाभेपछि भएको गतिविधिका कारण बन्द गरिएको यो नाका वि.स. २०८० कात्तिक २७ गते औपचारिक रूपमा पुनः सञ्चालनमा ल्याइएको हो।
