काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय दोहोरो सफलता हासिल गर्दै विश्वस्तरमा आफ्नो प्राविधिक क्षमता र उत्कृष्टता प्रमाणित गरेको छ।
भारतको इन्दौरस्थित होटल शेराटनमा आयोजित प्रतिष्ठित प्रतियोगिताहरूमा नेपाली टोली र पेशाकर्मीहरूले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेका हुन्।
विश्वकै प्रतिस्पर्धात्मक टेक्निकल इनोभेसन प्रतियोगिता EMTECH २०२६ मा नेपालको टिम ‘गुर्खाज’ विश्वविजेता बन्न सफल भएको छ। १२ देशका १२० टोलीसँग प्रतिस्पर्धा गर्दै टोलीले प्राविधिक दक्षता र इनोभेसनमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो।
विजेता टोलीमा सुजित कुमार दास, निरज कुमार मण्डल, बिक्रम सापकोटा र दामोदर भट्ट रहेका छन्। यस उपलब्धिले नेपालको इन्जिनियरिङ र प्राविधिक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ।
त्यसैगरी, VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ मा पनि नेपालले सफलता हात पारेको छ। २२ देशका ३५० भन्दा बढी प्रतिस्पर्धीबीच नेपालका शैलेन्द्र चन्द बस विधामा विजयी भएका छन्।
यी उपलब्धिहरूले व्यक्तिगत सफलता मात्र नभई नेपालको सर्भिस म्यानपावर, उपकरण र सेवा स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि गरेका छन्।
नेपाली पेशाकर्मीहरूको सीप, समर्पण र क्षमताले विश्व मञ्चमा देशको प्रतिष्ठा उचाल्दै नेपाललाई टेक्निकल इनोभेसन र व्यावसायिक उत्कृष्टताको उदाउँदो शक्तिका रूपमा स्थापित गरेको छ।
