काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनका क्षेत्रमा काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीचको सहकार्यलाई थप बलियो बनाइने भएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको भेटघाटमा हालको अवस्था, चुनौती र आवश्यकताबारे छलफल गर्दै नागरिकलाई प्रभावकारी सेवा दिने लक्ष्यसहित सहकार्य विस्तार गर्ने सहमति भएको हो।
भेटका क्रममा डंगोलले ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण, अव्यवस्थित बसोबास व्यवस्थापन, सडक मानवमुक्त अभियान लगायतका क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य गर्न चाहेको बताइन्। महानगर प्रहरी बललाई नेपाल प्रहरीको सहयोगले अझ सशक्त बनाइने उनको भनाइ थियो।
प्रहरी महानिरीक्षक कार्कीले महानगरलाई आवश्यक सहयोग उपलब्ध गराउन प्रहरी तयार रहेको बताए। उपत्यका प्रहरी कार्यालयमार्फत समन्वय गरिने र यसका लागि फोकल पर्सन समेत तोकिएको उनले जानकारी दिए।
छलफलमा लागू औषध दुव्र्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान तथा मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, ट्राफिक संकेत सुधार, रात्रि तथा विहानी बस सेवाको सुरक्षा, तथा ‘सडक मानव मुक्त काठमाडौं’ अभियानमा सहकार्यका विषय समेटिएका थिए।
बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, विभिन्न अधिकारीहरू तथा मानव सेवा आश्रमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
