बैंकक । थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबैलाई सुरक्षित रूपमा स्वदेश फर्काइएको दूतावासले जनाएको छ।
विभिन्न माध्यमबाट आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया पुगेका उनीहरूलाई पछि गैरकानुनी काममा लगाइएको सूचना पाएपछि कम्बोडियाली सरकारको समन्वयमा उद्धार गरिएको हो।
दूतावासका अनुसार पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना पुगेका थिए भने २०२२ मा एक हजार ९७७, २०२३ मा दुई हजार ९४०, २०२४ मा छ हजार ४०४ र २०२५ मा नौ हजार ६७६ जना पुगेका छन्।
दूतावासले श्रम स्वीकृति बिना कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता देशमा नजान आग्रह गर्दै यस्ता प्रलोभनबाट सचेत रहन सबैलाई अपिल गरेको छ।
