पार्टीको आन्तरिक अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नै दुई नेताविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।
बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
समितिका सदस्य भक्ति सिटौलाका अनुसार उनीहरूले पार्टीको आन्तरिक विषय सार्वजनिक रूपमा उठाएको, चुनावका बेला पार्टी निर्णय विपरीत अभिव्यक्ति दिएको तथा सामाजिक सञ्जालमा मर्यादाविपरीत टिप्पणी गरेको आरोप लागेको छ।
अनुसन्धान तथा अनुशासन समितिले उनीहरूको गतिविधिले पार्टीको प्रतिष्ठामा आँच पुगेको ठहर गर्दै तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ दिन निर्देशन दिएको छ।
यदि उनीहरूको स्पष्टीकरण सन्तोषजनक नभएमा निलम्बनदेखि निष्कासनसम्मको कडा कारबाही हुन सक्ने पार्टीले जनाएको छ।
