मध्यपूर्वमा जारी तनाव र द्वन्द्वका बाबजुद पनि इरानको सन् २०२६ को विश्वकप सहभागिता सुनिश्चित रहेको जियानी इन्फान्टिनोले स्पष्ट पारेका छन्।
फिफा अध्यक्ष इन्फान्टिनोले खेलकुदलाई राजनीतिक द्वन्द्वबाट अलग राख्नुपर्ने बताउँदै योग्यताका आधारमा इरानले प्रतियोगितामा भाग लिन पाउनु अनिवार्य रहेको धारणा व्यक्त गरे।
सिएनबिसीद्वारा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै उनले इरानको सहभागितामा कुनै अन्योल नरहेको बताए। “इरान निश्चित रूपमा विश्वकपमा आउँछ। हामी आशा गर्छौं कि त्यसबेलासम्म परिस्थिति शान्त हुनेछ,” उनले भने। उनले इरानी टोलीले आफ्ना नागरिकको प्रतिनिधित्व गर्ने भएकाले उनीहरूलाई खेल्नबाट रोक्न नहुने पनि उल्लेख गरे।
यसअघि पनि अन्टाल्यामा भएको इरान र कोस्टारिकाबीचको मैत्रीपूर्ण खेलका क्रममा उनले यस्तै धारणा व्यक्त गरेका थिए। तर, डोनाल्ड ट्रम्पले इरानी खेलाडीहरूको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै अमेरिका भ्रमण सुरक्षित नहुन सक्ने संकेत दिएका थिए।
तालिकाअनुसार इरानले आफ्नो समूह ‘जी’ अन्तर्गतका खेलहरू संयुक्त राज्य अमेरिकामै खेल्नेछ, जसमा दुई खेल लस एन्जलसमा र एक खेल सिएटलमा हुनेछ। टोलीको आधार शिविर टक्सनमा रहने तय गरिएको छ।
फिफा विश्वकप २०२६ संयुक्त रूपमा संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजना गर्ने छन्। यस प्रतियोगितामा इरानको सहभागिता फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल–इरान तनावका कारण केही समय अन्योलमा परेको थियो।
यसबीच क्षेत्रीय तनाव बढ्दै जाँदा इरान र अन्य देशबीच हवाई आक्रमण तथा प्रतिशोधका घटना जारी रहे पनि अप्रिल ८ मा नाजुक युद्धविराम लागू भएको थियो।
जटिल अवस्थाबीच पनि इन्फान्टिनोले खेलकुदले पुलको काम गर्नुपर्ने उल्लेख गर्दै भने, “खेलकुद राजनीतिभन्दा बाहिर हुनुपर्छ। यदि कसैले सम्बन्ध जोड्ने प्रयास नगरे, हामी त्यसका लागि प्रयासरत छौँ।”
पहिलोपटक ४८ टोली सहभागी हुने उक्त विश्वकप जुन ११ देखि सुरु हुने तय गरिएको छ।
