प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताएका छन्। महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले सेनाको संस्थागत हित तथा राष्ट्रको सार्वभौमिकता रक्षामा अवकाश प्राप्त सैनिकहरूको योगदान अविष्मरणीय रहेको उल्लेख गरे।
उनले अवकाश प्राप्त सकल दर्जालाई समाजमा जिम्मेवार, अनुशासित र मर्यादित नागरिकका रूपमा प्रस्तुत हुँदै स्थानीय स्तरमा उत्पादनशील र उद्यमी बन्न आग्रह गरे। साथै, नेपाली सेनाको कल्याणकारी कोषका सेवाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा पहुँच विस्तार भइरहेको जानकारी दिए।
प्रधानसेनापति सिग्देलले देशको आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भूमिकाले संस्थालाई विश्वसनीय र सम्मानित बनाएको दाबी गरे। हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सेनाले देखाएको कार्यकुशलताको पनि उनले प्रशंसा गरे।
कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले सम्मेलनमा देखिएको उत्साहपूर्ण सहभागिताले सैनिकहरूमा अझै पनि राष्ट्रप्रतिको प्रतिबद्धता जीवित रहेको झल्काएको बताए।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता जोगाउन नेपाली सेनाले ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले भविष्यका चुनौती सामना गर्न सक्षम संस्था निर्माण गर्नु सबैको साझा दायित्व भएको बताए।
कार्यक्रममा मध्य पृतना अन्तर्गतका विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो। यस वर्षको सम्मेलन ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको थियो।
