नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा अब सर्वोच्च अदालतको संयुक्त इजलासमा प्रवेश गरेको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासमा यस मुद्दाको सुनुवाइ हुने तय भएको हो।
निर्वाचन आयोगले गगन थापा–विश्वप्रकाश शर्मा समूहलाई पार्टीको आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिट निवेदनको पेसी तोकिएसँगै कानुनी प्रक्रिया निर्णायक चरणमा पुगेको छ।
यसअघि, २०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्वाचन आयोग, नेपाली कांग्रेस केन्द्रीय कार्यालय र सभापति गगन थापासँग लिखित जवाफ मागेको थियो। ती सबै पक्षले आफ्नो जवाफ पेस गरिसकेपछि मुद्दा अब संयुक्त इजलासमा पुगेको हो।
अब हुने सुनुवाइबाट कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक विवादको कानुनी टुङ्गो लाग्ने अपेक्षा गरिएको छ।
