प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेपछि पहिलो पटक आज सातै प्रदेशका मुख्यमन्त्रीसँग महत्वपूर्ण छलफल गर्दैछन्।
दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठक संघीय र प्रदेश सरकारबीच समन्वय सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको हो।
बैठकमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ।
यसैगरी, राष्ट्रिय प्राथमिकताका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ मजबुत बनाउने भन्ने विषय पनि एजेन्डामा समेटिएको छ।
देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयास बैठकको अर्को प्रमुख लक्ष्य रहनेछ।
यो बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पु¥याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
