पशुपतिनगर (इलाम), वैशाख २ — इलामको सिद्धिखोलामा निर्माणाधीन सिद्धि हाइड्रोपावर कम्पनीको विद्युत् उत्पादन परीक्षण सफल भई राष्ट्रिय ग्रिडमा जडान गरिएको छ।
सिद्धि हाइड्रोपावर कम्पनी को प्रवर्द्धनमा निर्माण भएको सिद्धि खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली इलामको लसुनेमा निर्माण गरिएको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
कम्पनीका अनुसार आयोजनाबाट उत्पादित विद्युतको सफल परीक्षणपछि औपचारिक रूपमा राष्ट्रिय ग्रिडमा जडान गरिएको हो। यो आयोजना इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाको सीमामा पर्ने सिद्धिखोलामा निर्माण गरिएको हो।
उक्त आयोजनाको कुल उत्पादन क्षमता १० मेगावाट रहेको छ। सिटिजन्स बैंक को एकल ऋण लगानीमा निर्माण भएको यस आयोजनाको लागत प्रतिमेगावाट करिब २१ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
रोङ गाउँपालिका–६ र सूर्योदय नगरपालिका–५ को सिमानामा पर्ने खरवनी पम्प क्षेत्रमा हेड ट्याङ्क निर्माण गरी करिब साढे तीन किलोमिटर पाइपलाइनमार्फत तातोपानीमा पावरहाउस निर्माण सम्पन्न गरिएको हो। त्यसपछि लसुने सबस्टेसनबाट राष्ट्रिय ग्रिडमा विद्युत् जडान गरिएको कम्पनीका सरोज पौडेलले जानकारी दिए।
२०८० असोजदेखि निर्माण सुरु भएको यो आयोजना मंसिरमै सम्पन्न गर्ने लक्ष्य रहे पनि असोज १८ र १९ गतेको बाढी–पहिरोका कारण करिब ६ महिना ढिलो भएको थियो। उक्त प्राकृतिक प्रकोपबाट आयोजनालाई करिब ५० करोड रुपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ।
आयोजना सञ्चालनमा आएसँगै इलाम क्षेत्रको ऊर्जा उत्पादनमा थप योगदान पुग्ने र स्थानीय स्तरमा विकास तथा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
