नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले गए रातिदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य समायोजन गरेको जनाएको हो।
नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि भई २३७ रुपैयाँ पुगेको छ। त्यस्तै, हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँ बढेर २५६ रुपैयाँ कायम भएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा लगातार भइरहेको मूल्यवृद्धि र Indian Oil Corporation ले पठाएको नयाँ मूल्यसूचीका आधारमा समायोजन गरिएको हो। यद्यपि मूल्य बढाउँदा पनि निगमको घाटा भने कायमै रहेको छ।
निगमले सार्वजनिक गरेको विवरणअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको छ।
पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको दबाबका कारण मूल्यवृद्धि गर्न बाध्य भएको निगमको तर्क छ।
यस मूल्यवृद्धिले सर्वसाधारणको दैनिक खर्चमा थप भार पर्ने अनुमान गरिएको छ।
