इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन्। उनलाई बुधबार रिहा गरिएको जानकारी परराष्ट्र मन्त्रालय नेपाल ले दिएको छ।
झा इन्धन ढुवानी कार्यका लागि इरान पुगेका थिए। उनी इजरायल र संयुक्त राज्य अमेरिका बीच तनाव बढ्नुअघि नै त्यहाँ पुगेका थिए।
दुबईस्थित एक समुद्री यातायात कम्पनीमा कप्तानका रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए। वैदेशिक रोजगारीका लागि दुई वर्षअघि दुबई गएका झा ‘ब्ल्याक सी मरिन एलएलसी’ नामक कम्पनीको जहाजमा कार्यरत थिए।
उनसँगै केही भारतीय नागरिकहरू पनि नियन्त्रणमा परेका थिए। उनीहरूबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
झाको रिहाइसँगै परिवार तथा सम्बन्धित निकायले राहत महसुस गरेका छन्। सरकारले यस्ता घटनामा नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहललाई निरन्तरता दिने जनाएको छ।
