अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानलाई हतियार आपूर्ति नगर्न आग्रह गर्दै पत्र पठाएको बताएका छन्। उनले उक्त आग्रहपछि चीनले इरानलाई हतियार नपठाउने सहमति जनाएको दाबी गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत मार्फत यस्तो जानकारी सार्वजनिक गरेका हुन्। यसअघि उनले फक्स न्युज सँगको अन्तर्वार्तामा चीनले इरानलाई हतियार आपूर्ति गरिरहेको रिपोर्ट पाएपछि आफूले सी चिनफिङ लाई पत्र लेखेको बताएका थिए।
उनका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले जवाफी पत्र पठाउँदै चीनले इरानलाई हतियार आपूर्ति नगरेको स्पष्ट पारेका छन्।
ट्रम्पले इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई ‘अहिलेसम्मकै खराब सम्झौता’को संज्ञा दिएका छन्। उनका अनुसार उक्त सम्झौताले इरानलाई आणविक हतियार निर्माणतर्फ सहज बाटो दिएको थियो।
त्यस्तै, उनले अमेरिकाले गत वर्ष इरानको आणविक स्थलमा कारबाही नगरेको भए इरानले Israel, उसका छिमेकी देशहरू तथा अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्न सक्ने दाबी गरेका छन्।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि इरानलाई आणविक हतियार प्राप्त भयो भने यसले विश्व सुरक्षामा गम्भीर खतरा निम्त्याउनेछ।’
