नेपालमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन सट्टेबाजीसम्बन्धी १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध सट्टेबाजी गतिविधिमा संलग्न एप र वेबसाइटहरू पहिचान गरी इन्टरनेट सेवा प्रदायकहरूको समन्वयमा बन्द गरिएको हो ।
उनका अनुसार हालसम्म १० हजारभन्दा बढी यस्ता डिजिटल प्लेटफर्महरू बन्द गरिसकिएको छ । नेपाल टेलिकमले मात्रै ठूलो संख्यामा यस्ता वेबसाइट तथा एपहरू ब्लक गरेको बताइएको छ । प्राधिकरणले यस्ता अवैध प्लेटफर्महरू निरन्तर पहिचान गरी बन्द गर्ने कार्य जारी रहने जनाएको छ ।
यो कदम सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनअन्तर्गत चालिएको हो । मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था समावेश गरिएको थियो ।
त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते प्राधिकरणलाई आवश्यक निर्देशन दिँदै तत्काल कार्यान्वयन गर्न भनेको थियो । सोही निर्देशनअनुसार दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गरी ती प्लेटफर्महरू बन्द गरेको हो ।
नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्नु वा गराउनु दण्डनीय अपराध हो । सो कानुनअनुसार दोषी ठहर भएमा प्रयोग भएको रकम जफत, एक वर्षसम्म कैद तथा १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
त्यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले पनि जुवा तथा सट्टेबाजीलाई प्रोत्साहन गर्ने विज्ञापन गर्न निषेध गरेको छ । यस्ता कानुन उल्लंघन गरेमा पनि एक वर्षसम्म कैद र जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।
सरकारले नागरिकलाई यस्ता अवैध अनलाइन गतिविधिबाट टाढा रहन आग्रह गर्दै कुनै शङ्कास्पद एप वा वेबसाइट भेटिएमा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको छ ।
