काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय मा भएको उक्त भेटमा नेपाल–जर्मनी द्विपक्षीय सम्बन्धका विविध पक्षबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा दुवै पक्षले नेपाल र जर्मनीबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान गरेका थिए । विकास सहकार्य, प्राविधिक सहयोग, शिक्षा तथा क्षमता अभिवृद्धि, जलवायु परिवर्तन, दिगो विकास, र आर्थिक साझेदारी जस्ता क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे समेत छलफल भएको बताइएको छ ।
राजदूत भोल्जले सो अवसरमा जर्मनीका संघीय विदेशमन्त्री डा. योहान डेविड वाडेफुलको तर्फबाट मन्त्री खनाललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले नेपालसँगको सम्बन्धलाई जर्मनीले उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा आपसी सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरेका थिए ।
मन्त्रालयका अनुसार मन्त्री खनालले पनि नेपाल र जर्मनीबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने नेपाल सरकारको प्रतिबद्धता दोहोर्याएका थिए । उनले विकास साझेदारका रूपमा जर्मनीले नेपालमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरेका थिए ।
भेटमा दुवै पक्षले आपसी हितका विषयमा नियमित संवाद र उच्चस्तरीय आदान–प्रदानलाई निरन्तरता दिने सहमति जनाएका छन् ।
