काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय अनुशासन समितिले सोधेको स्पष्टीकरणलाई निरर्थक र हास्यास्पद बताएका छन् ।
अनुशासन समितिले ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेपछि रातोपाटीसँग प्रतिक्रिया दिँदै खड्काले भने, “स्पष्टीकरण भनेको यो आधारमा निरर्थक छ, हास्यास्पद छ ।”
नेपाली कांग्रेस को अनुशासन समितिले पूर्व उपसभापति खड्काले अनधिकृत रूपमा मिति २०८२/१२/३० मा प्रेस विज्ञप्ति जारी गरेको आरोप लगाउँदै पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ३४(८)(घ) अनुसार ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
निर्णयपछि खड्काले रातोपाटीलाई दिएको प्रतिक्रिया यस्तो छ:
नेपाली कांग्रेस १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले नेपाली कांग्रेसका बारेमा गरेको निर्णय संविधान, प्रचलित कानुन तथा राजनीतिक दलसम्बन्धी ऐन विपरीत भएको दाबी गरेको छ ।
उनका अनुसार सो निर्णय पार्टी विधानसँग पनि मेल नखाने भएकाले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्न केन्द्रीय कार्यसमितिबाट आफूलाई अख्तियारी दिइएको थियो, र आफूले कार्यवाहक सभापतिको हैसियतमा उक्त मुद्दा दायर गरेको बताए ।
उनले विशेष महाधिवेशन र त्यसबाट बनेका संरचनालाई अवैधानिक भन्दै, त्यस प्रक्रियाका आधारमा भएका निर्णयमा सहभागी नहुने निर्णय गरेको पनि उल्लेख गरे ।
खड्काले भने, “उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तो अवस्थामा मलाई स्पष्टीकरण सोध्नुको कुनै अर्थ छैन। यो निरर्थक र हास्यास्पद छ। सर्वोच्च अदालतको निर्णयपछि सबैले त्यसलाई स्वीकार गर्नुपर्छ।”
