काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले पार्टीको अनुशासन समितिले सोध्ने स्पष्टीकरणबारे पछि प्रतिक्रिया दिने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको अनुशासन समिति बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
समितिको निर्णयअनुसार, खड्काले अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको भन्दै नेपाली कांग्रेसको विधान विपरीत कार्य भएको ठहर गरिएको छ ।
अनुशासन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि खड्काले कार्यवाहक सभापतिको हैसियतमा नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत विज्ञप्ति जारी गरेको देखिएकाले स्पष्टीकरण सोधिएको हो ।
निर्णयपछि सञ्चारकर्मीहरूले प्रतिक्रिया लिन खोज्दा खड्काले आफू मिटिङमा रहेको भन्दै पछि कुरा गर्ने बताएका छन् ।
यसअघि पनि उनले जारी गरेका विज्ञप्ति र निर्णयहरूलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको थियो । अनुशासन समितिले यसअघि नै उनलाई सचेत गराइसकेको थियो ।
तर पछिल्लो पटक फेरि त्यही शैलीमा विज्ञप्ति जारी भएपछि समितिले कडा कदमस्वरूप ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
