काठमाडौं । मधेश प्रदेश आगामी संस्करणको जय ट्रफी क्रिकेटका लागि छनोट भएको छ ।
पीएम कपको अन्तिम लिग खेलमा नेपाल पुलिस क्लब लाई पराजित गर्दै मधेशले जय ट्रफीमा स्थान पक्का गरेको हो । बुधबार वीरगन्जमा भएको खेलमा मधेशले पुलिसलाई ४ विकेटले हराएको हो ।
पुलिसले दिएको १३१ रनको लक्ष्य मधेशले २४.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । मधेशका लागि अरनिको यादव ले अविजित ६५ रन बनाए भने रुपेश सिंहले पनि अविजित २७ रन जोडे । ६५–२ को अवस्थाबाट ७७–६ को संकटमा पुगेको टोलीलाई यी दुई ब्याट्सम्यानले ५३ रनको महत्वपूर्ण साझेदारी गर्दै जित दिलाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पुलिस ४०.३ ओभरमा १३० रनमा अलआउट भयो । पुलिसका लागि कुशल भुर्तेल ले सर्वाधिक ३९ रन बनाए । शंकर राना २७, राशिद खान १८ तथा दिनेश खरेल र गुल्शन झाले समान १५ रन जोडे ।
मधेशका बलरहरू पवन सर्राफ, रञ्जित कुमार र आशिक बैठाले समान ३–३ विकेट लिए भने अरनिको यादवले १ विकेट हात पारे ।
प्रतियोगितामा पाँचौं जित दर्ता गर्दै मधेशले ९ खेलमा ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पुलिस भने शीर्ष ६ मा रहेर जय ट्रफीका लागि छनोट भएको छ ।
