जेन–जी अगुवा रक्षा बम ले प्रधानमन्त्री वालेन्द्र शाह प्रति कडा प्रश्न उठाएकी छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत उनले संसदमा प्रधानमन्त्रीको आवाज नसुनिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले परिवर्तनलाई सम्बोधन गर्दै संसदमा बोल्नुपर्ने भए पनि प्रधानमन्त्रीले बिना सम्बोधन अधिवेशन अन्त्य गरेको टिप्पणी गरेकी छन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू, संसदको पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौँ । चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपर्थ्यो । तर, तपाईंले संसदमा नबोली अधिवेशन सक्नुभयो,’ उनले लेखेकी छन् ।
उनले ‘कुरा कम, काम बढी’ भन्ने व्यक्तिगत शैली मात्र पर्याप्त नहुने उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा संसदमार्फत राष्ट्रलाई सम्बोधन गर्नु कर्तव्य भएको बताएकी छन् ।
बमका अनुसार जनतालाई केवल प्राविधिक समाधान मात्र होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि आवश्यक हुन्छ । उनले प्रधानमन्त्रीलाई सीमित शैलीमा शासन नगर्न र लोकतान्त्रिक अवसरको सही उपयोग गर्न सुझाव दिएकी छन् ।
गत १३ चैतमा प्रधानमन्त्री बनेका शाहले अहिलेसम्म न औपचारिक रूपमा राष्ट्रलाई सम्बोधन गरेका छन्, न त संसदमा बोलेका छन् । यस कारण उनको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ ।
