सरकारले इजरायल, बहराइन, कुवेत र लेबनान का लागि पनि पुनः श्रम स्वीकृति खुला गरेको छ । खाडी क्षेत्रमा युद्ध चर्किएपछि १७ फागुनदेखि रोकिएको पुनः श्रम स्वीकृति अब पुनः सुरु गरिएको वैदेशिक रोजगार विभाग ले जनाएको छ ।
यसअघि खाडीका देशमध्ये साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्की का लागि पुनः श्रम स्वीकृति खुला भइसकेको थियो । तर इजरायल, बहराइन, कुवेत र लेबनानका हकमा भने बन्द नै थियो । बुधबारदेखि यी देशका लागि पनि पुनः श्रम स्वीकृति खुला गरिएको हो ।
इराक मा भने सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको देश भएकाले तोकिएका कागजात पूरा गर्नेहरूलाई मात्र पुनः श्रम स्वीकृति दिइने विभागले जनाएको छ ।
खाडी देशका लागि पुनः श्रम स्वीकृति खुला भए पनि नयाँ श्रम स्वीकृतिको विषय भने अझै अनिश्चित छ । यसअघि ती देशस्थित नेपाली दूतावासहरूले तत्काल नयाँ श्रम स्वीकृति खुला गर्नु उपयुक्त नहुने सुझाव दिएका थिए ।
हाल भने सेवाग्राहीले आवेदन दिएकै दिन श्रम स्वीकृति प्राप्त गर्ने व्यवस्था गरिएको छ, जसअनुसार पहिलेझैँ टोकन लिएर मिति र समय कुर्नुपर्ने झन्झट हटाइएको छ ।
