काठमाडौँ । क्षेत्रीय तनावबीच कूटनीतिक सक्रियता बढाइरहेको पाकिस्तान एकातर्फ अमेरिका–इरानबीच शान्ति प्रयासमा संलग्न देखिएको छ भने अर्कोतर्फ आफ्ना प्रमुख साझेदारसँग आर्थिक तथा रणनीतिक सम्बन्ध सुदृढ गर्न अघि बढेको छ ।
यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ साउदी अरब को औपचारिक भ्रमणका लागि बुधबार प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री सरिफ उच्चस्तरीय प्रतिनिधिमण्डलसहित इस्लामाबादबाट जेद्दातर्फ गएका हुन् । भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध मजबुत बनाउने तथा क्षेत्रीय परिस्थितिबारे उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ ।
पाकिस्तान र साउदी अरबबीच परम्परागत रूपमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ । फेब्रुअरीदेखि बढेको क्षेत्रीय द्वन्द्वपछि इरान बाट सम्भावित जोखिमको सन्दर्भमा साउदी अरबलाई अमेरिकी सहयोगीमध्ये एक प्रमुख देशका रूपमा हेरिएको छ । यस्तो अवस्थामा इस्लामाबाद–रियाद समन्वय अझ महत्वपूर्ण मानिएको छ ।
यसैबीच, पाकिस्तानको कमजोर बन्दै गएको विदेशी मुद्रा सञ्चिति सुदृढ गर्न साउदी अरबले थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । पाकिस्तानको वित्त मन्त्रालयका अनुसार साउदी अरबले तीन अर्ब अमेरिकी डलर बराबरको थप निक्षेप उपलब्ध गराउने घोषणा गरेको छ, जसको वितरण आगामी हप्ताभित्र हुने अपेक्षा गरिएको छ ।
अर्थ तथा राजस्वमन्त्री मुहम्मद औरङ्गजेब ले उक्त सहयोगले देशको विदेशी मुद्रा भण्डार मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । उनी हाल अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को वार्षिक वसन्त बैठकका लागि वासिङ्टन डी.सी. मा रहेका छन् ।
उनका अनुसार साउदी अरबले यसअघि उपलब्ध गराएको पाँच अर्ब डलर निक्षेपलाई पनि अनिश्चित अवधिसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
यो सहयोग त्यस्तो समयमा आएको हो, जतिबेला पाकिस्तानले साउदी अरबको क्षेत्रीय प्रतिस्पर्धी संयुक्त अरब इमिरेट्स बाट लिएको अर्बौं डलर ऋण फिर्ता गरिरहेको जनाएको थियो । यसले पाकिस्तानको आर्थिक व्यवस्थापन र बाह्य निर्भरतालाई सन्तुलनमा राख्ने प्रयासलाई संकेत गर्छ ।
