काठमाडौँ । गण्डकी प्रदेश मा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ, जसअनुसार नेपाली कांग्रेसबाट तीन जना नयाँ मन्त्री नियुक्त भएका छन्।
नयाँ नियुक्तिअनुसार अर्थमन्त्रीमा जित शेरचन, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपाने, र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीमा नम्डु गुरुङ नियुक्त भएका छन्। यस्तै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी रेखा गुरुङले पाएकी छन्।
यसअघि अर्थ मन्त्रालयमा डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालयमा विन्दुकुमार थापा र वन मन्त्रालयमा भेषबहादुर पौडेल कार्यरत थिए। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए।
नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। पुनर्गठनपछि प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
