काठमाडौं। सस्मित पोखरेल र नेपालका लागि रब फेन बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबार स्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा शिक्षा तथा खेलकुद क्षेत्रको सहकार्यलाई थप विस्तार गर्ने विषयमा केन्द्रित छलफल भएको थियो।
भेटमा नेपाल–संयुक्त अधिराज्य (बेलायत) बीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो। विशेषगरी शिक्षा क्षेत्रमा बेलायत सरकारबाट भइरहेका सहयोगलाई निरन्तरता दिने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्।
छलफलका क्रममा नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिजम विद्यालयका लागि सहकार्य, स्रोत तथा जनशक्ति विकास र शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिमा सहयोगबारे पनि कुराकानी भएको थियो। साथै, ट्रान्सनेशनल एजुकेसनको नेपालमा सम्भावना र त्यसका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोगका विषयमा समेत परामर्श भएको जनाइएको छ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्र सुधार, शिक्षक क्षमता विकास र समावेशी शिक्षाका पहलहरूमा बेलायत सरकारको निरन्तर सहयोग रहने अपेक्षा व्यक्त गरे। जवाफमा राजदूत फेनले शिक्षा, खेलकुद लगायत विभिन्न क्षेत्रमा विगतदेखि जारी सहकार्यलाई अझ विस्तार गर्न बेलायत सरकार प्रतिबद्ध रहेको बताए।
भेटले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै शिक्षा क्षेत्रमा नयाँ सहकार्यका ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ।
