काठमाडौं । आज ‘अन्तरराष्ट्रिय आरोग्य दिवस’ विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यो दिवस संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेपछि यसै वर्षदेखि नेपालसहित विश्वका विभिन्न देशमा औपचारिक रूपमा मनाउन सुरु गरिएको हो।
संयुक्त राष्ट्रसङ्घ को महासभाले नेपालले अघि सारेको प्रस्ताव अनुमोदन गर्दै यो दिवसलाई विश्वव्यापी रूपमा मान्यता दिएको हो। नेपाल यस अभियानको अग्रणी देशका रूपमा रहेको छ।
यो दिवसको मुख्य उद्देश्य समग्र स्वास्थ्य, सुख, सन्तुलित जीवनशैली तथा निवारणमुखी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नु रहेको छ। रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्न नदिने अभ्यासलाई प्राथमिकता दिँदै जनस्वास्थ्य सुधारमा जोड दिइएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सस्तो, सुलभ र समावेशी स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु यस दिवसको प्रमुख लक्ष्य हो। यसले रोकथाममुखी स्वास्थ्य प्रणालीमार्फत दीर्घकालीन रूपमा स्वास्थ्य खर्च घटाउन र जीवनस्तर सुधार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
दिवसको सन्दर्भमा परम्परागत ज्ञान, आदिवासी चिकित्सा प्रणाली र सांस्कृतिक अभ्यासहरूको भूमिकालाई पनि महत्व दिइएको छ। प्रमाणमा आधारित परम्परागत उपचार पद्धतिले आधुनिक स्वास्थ्य प्रणालीलाई अझ प्रभावकारी बनाउन सक्ने राष्ट्रसङ्घको भनाइ छ।
यस अवसरमा विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर र संवाद कार्यक्रमहरू आयोजना भइरहेका छन्।
संयुक्त राष्ट्रसङ्घले यसलाई जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र स्वास्थ्यसम्बन्धी ज्ञान साझेदारीका लागि महत्वपूर्ण मञ्चका रूपमा लिएको छ।
यसअघि मनाइँदै आएका अन्तर्राष्ट्रिय खुशी दिवस, अन्तर्राष्ट्रिय योग दिवस र विश्व ध्यान दिवसले पनि समग्र आरोग्य प्रवर्द्धनमा सहयोग गर्दै आएको उल्लेख गरिएको छ।
दिगो विकास लक्ष्यअनुसार सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने, मातृ तथा शिशु स्वास्थ्य सुधार गर्ने, सरुवा तथा नसर्ने रोग नियन्त्रण गर्ने तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
