विराटनगर । कोशी प्रदेश र सूर्योदय नगरपालिका को साझेदारीमा निर्माण गरिएको ‘चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र’ सञ्चालनमा आएको डेढ वर्ष पुग्न लाग्दा पनि अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
इलाम को कन्याममा निर्माण गरिएको यो केन्द्र नेपालकै पहिलो चिया अनुसन्धान केन्द्रका रूपमा चिनिन्छ। तर उद्घाटन भए पनि आवश्यक मेसिनरी र प्रयोगशाला उपकरण अझै प्रयोगमा आउन सकेका छैनन्।
यो केन्द्र २०८१ मङ्सिर २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की द्वारा उद्घाटन गरिएको थियो। १३ करोड रुपैयाँभन्दा बढी लगानीमा बनेको संरचना अहिले उपयोगविहीन अवस्थामा रहेको छ।
मुख्य समस्या पानी आपूर्तिको अभाव रहेको बताइएको छ। आवश्यक खानेपानी आयोजना समयमै सम्पन्न नभएकाले केन्द्र सञ्चालन रोकिएको सूर्योदय नगरपालिकाका पूर्व प्रमुख रणबहादुर राईले बताएका छन्। उनका अनुसार पानी आपूर्तिको व्यवस्था नहुँदा प्रयोगशाला र अन्य संरचना सञ्चालन गर्न नसकिएको हो।
नगरपालिकाले भने अर्को खानेपानी आयोजना अन्तिम चरणमा पुगेको र ओभरहेड ट्याङ्की निर्माणपछि केन्द्र सञ्चालनमा आउने दाबी गरेको छ।
सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालका अनुसार ल्याब सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति तयार भइसकेको छ र प्रदेश सरकारसँग समन्वय भइरहेको छ।
प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले भने यो केन्द्र मुख्य रूपमा प्रवर्द्धन र प्रदर्शनका लागि निर्माण गरिएको बताउँदै सञ्चालनको जिम्मेवारी स्थानीय तहकै रहेको स्पष्ट पारेको छ।
प्रदेश सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा बनेको यस परियोजनामा चिया परीक्षण प्रयोगशाला, संग्रहालय, सेमिनार हल, क्याफे र पर्यटन पूर्वाधार समेटिएको छ।
विशेषज्ञहरूका अनुसार केन्द्र सञ्चालनमा आएमा इलामको चिया गुणस्तर परीक्षण स्थानीयस्तरमै सम्भव हुने, अन्तर्राष्ट्रिय व्यापार सहज हुने र कन्याम क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।
