काठमाडौं । सभामुख डोलप्रसाद अर्याल ले नेपाललाई सस्तो पर्यटन गन्तव्यको रूपमा होइन, उच्च मूल्य र दिगो विकासमा आधारित ‘प्रिमियम आरोग्य पर्यटन गन्तव्य’का रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाललाई केवल बजेट–ट्राभल गन्तव्यको रूपमा सीमित गर्न नहुने बताए। उनका अनुसार पर्यटन क्षेत्रको सफलता आगन्तुक संख्या मात्र नभई उनीहरूले पाउने अनुभवको गुणस्तर र खर्च क्षमतामा निर्भर हुन्छ।
सभामुख अर्यालले आरोग्य (वेलनेस) पर्यटनका आगन्तुकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्ने र लामो समय बस्ने भएकाले यस क्षेत्रबाट उच्च आर्थिक लाभ लिन सकिने बताए। उनले हिमालय, पवित्र नदी, योग र ध्यान परम्परा नेपालका प्रमुख आकर्षण भएको उल्लेख गरे।
उनका अनुसार विश्वभर तीव्र रूपमा विस्तार भइरहेको आरोग्य पर्यटन बजार खर्बौँ डलरको उद्योगमा परिणत भइसकेको छ र नेपालसँग यस क्षेत्रमा ठूलो सम्भावना छ।
उनले पश्चिमका क्षेत्रहरूदेखि रारा ताल, लुम्बिनी, मनाङ र मुस्ताङसम्मका क्षेत्रहरूलाई आत्मिक अनुभवका गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।
सभामुखले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडेल विकास गर्नुपर्ने र त्यसका लागि स्पष्ट नीति, राष्ट्रिय आरोग्य रणनीति तथा स्थानीय समुदायको साझेदारी आवश्यक रहेको पनि जोड दिएका छन्।
