काठमाडौँ । हर्क साम्पाङ ले पूर्व–पश्चिम लोकमार्गलाई महेन्द्र राजमार्गको सट्टा “यलम्बर राजमार्ग” नाम राख्नुपर्ने सुझाव दिएका छन्।
उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै “महेन्द्र हाइवेभन्दा यलम्बर हाइवे राख्दा राम्रो हुने” बताएका छन्।
सरकारले हालै सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा पूर्व–पश्चिम लोकमार्ग लाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय मापदण्डको हाइवेमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ। यही योजनासँगै राजमार्गको ऐतिहासिक नामबारे पुनः बहस सुरु भएको हो।
यो राजमार्ग २०१८ सालमा निर्माण सुरु भएको थियो र तत्कालीन राजा महेन्द्रले शिलान्यास गरेका कारण “महेन्द्र राजमार्ग” नामकरण गरिएको थियो।
पछिल्ला वर्षहरूमा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि कतिपय स्थानहरूको नाम परिवर्तन भए पनि यो राजमार्गको नामबारे भने निरन्तर बहस हुँदै आएको छ।
हर्क साम्पाङको टिप्पणीपछि सामाजिक सञ्जालमा यस विषयमा पुनः चर्चा सुरु भएको छ भने समर्थक–विरोधी दुवै पक्षका प्रतिक्रिया आउन थालेका छन्।
