काठमाडौँ । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का सम्बन्धी अनुसन्धान फाइल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ।
विभागले सोमबार खड्काविरुद्ध संकलित प्रारम्भिक प्रमाणसहितको फाइल आयोगलाई हस्तान्तरण गरेको हो। यससँगै अनुसन्धान अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग को नेतृत्वमा अघि बढ्ने भएको छ।
यसै क्रममा गृहमन्त्री सुधन गुरुङ टंगालस्थित अख्तियार कार्यालय पुगेर प्रमुख आयुक्तसँग छलफल गरेका छन्। छलफलमा खड्काको अनुसन्धान प्रक्रिया अगाडि बढाउने विषयमा केन्द्रित भएको बताइएको छ।
खड्का चैत १५ गते केन्द्रीय अनुसन्धान ब्युरो (CIB) द्वारा पक्राउ परेका थिए। त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद लिएर अनुसन्धान गरिरहेको थियो।
विभागका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधनपछि यस्तो प्रकृतिका मुद्दामा प्रारम्भिक अनुसन्धानभन्दा बढी सम्बन्धित निकाय (भ्रष्टाचारको हकमा अख्तियार) बाट अनुसन्धान अघि बढाउनु उपयुक्त हुने व्यवस्था छ।
अख्तियारले अब भ्रष्टाचार निवारण ऐनअनुसार खड्कामाथि सार्वजनिक पदको दुरुपयोग र अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा अनुसन्धान गर्नेछ। त्यसपछि मात्र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप कानुनी प्रक्रिया अघि बढ्न सक्नेछ।
यसअघि विभागले सीधै अनुसन्धान गर्न पाउने अधिकार संशोधनमार्फत सीमित गरिएको थियो, जसअनुसार सम्बन्धित मूल कसुरमा अभियोजन अघि बढेपछि मात्र सम्पत्ति शुद्धीकरणको मुद्दा अगाडि बढाउन सकिने व्यवस्था गरिएको छ।
अधिकारकर्मीहरूका अनुसार, अब अख्तियारको अनुसन्धानपछि आवश्यक परेमा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पनि थप अनुसन्धान गरी अदालतमा अभियोजन दर्ता गर्न सक्नेछ।
हाल खड्का अख्तियारको हिरासतमा राखेर थप म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी भइरहेको छ।
खड्का यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत भइसकेका पूर्व सांसद हुन्।
