वासिङ्टन डिसी । मध्यपूर्वमा जारी तनावबीच इसराइल र लेबनन बीच अमेरिकामा प्रारम्भिक वार्ता भएको छ। अमेरिकाको मध्यस्थतामा वासिङ्टन डिसीमा मंगलबार भएको उक्त वार्तालाई युद्धपछिको दुर्लभ कूटनीतिक कदमका रूपमा हेरिएको छ।
वार्ता मार्को रूबिओ को पहलमा भएको हो। छलफलमा इसराइलका लागि अमेरिकी राजदूत यचिल लेटर र लेबननकी राजदूत नाडा मोवाद सहभागी थिए। अमेरिकाबाट स्वयं विदेशमन्त्री रूबिओ, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ज तथा लेबननका लागि अमेरिकी राजदूत माइकल इसा पनि उपस्थित थिए।
करिब दुई घण्टा चलेको वार्तालाई दुवै पक्षले सकारात्मक भनेका छन्। वार्ताको मुख्य उद्देश्य एक–अर्काको अडान बुझ्ने र भविष्यमा युद्धविराम तथा औपचारिक वार्ताको सम्भावना खोज्ने रहेको बताइएको छ।
यो वार्ता सन् १९४८ मा इसराइल स्थापना भएयता पहिलो पटक दुबै देशका प्रतिनिधि एउटै टेबलमा बसेको दुर्लभ कूटनीतिक क्षण मानिएको छ। यद्यपि यो पूर्ण औपचारिक वार्ता नभई प्रारम्भिक संवाद मात्र भएको जनाइएको छ।
वार्तापछि जारी संयुक्त संकेतमा दुवै पक्षले भविष्यमा प्रत्यक्ष वार्ता अघि बढाउने सहमति भएको उल्लेख छ। आगामी चरणमा एजेन्डा, सुरक्षा मुद्दा र सम्भावित सम्झौता विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
इसराइली पक्षले लेबनन हिजबुल्लाहको प्रभावबाट टाढा हुने संकेत दिएको दाबी गरेको छ। तर इसराइलले लेबननमाथि सैन्य कारबाही रोक्ने वा नरोक्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाएको छैन।
लेबननकी प्रतिनिधि नाडा मोवादले पनि वार्ता सकारात्मक दिशामा अघि बढेको बताएकी छन्।
यसैबीच, अमेरिकी पक्षले समस्या तत्काल समाधान नहुने भन्दै दीर्घकालीन प्रक्रिया आवश्यक हुने संकेत दिएको छ। आगामी केही साताभित्र थप वार्ता हुन सक्ने अनुमान गरिएको छ, यद्यपि स्थान र समय तय भइसकेको छैन।
यो वार्ता इसराइल–इरानबीचको पछिल्लो युद्धविरामपछि भएको हो। तर लेबननलाई उक्त युद्धविराममा समेट्ने वा नसमेट्ने विषय अझै विवादमा रहेको छ।
यसबीच, लेबननमा पछिल्ला द्वन्द्वका कारण २ हजारभन्दा बढीको मृत्यु र करिब १२ लाख मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय रिपोर्टहरूले जनाएका छन्।
वार्तालाई विश्लेषकहरूले मध्यपूर्वमा लामो समयदेखि चलिरहेको तनाव कम गर्ने सम्भावित प्रारम्भिक कदमका रूपमा मूल्यांकन गरेका छन्।
