बागमती । आर्थिक सङ्कट र व्यवस्थापकीय समस्याका कारण लामो समयदेखि अनियमित सञ्चालन हुँदै आएको हेटौँडा सिमेन्ट उद्योग लाई नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको छ।
रुग्ण उद्योग पुनः सञ्चालन गर्ने सरकारको नीतिसँगै उद्योगको भविष्यबारे बहस तीव्र बनेको हो। पटक–पटक बन्द र पुनः सञ्चालन हुँदै आएको उद्योगलाई दीर्घकालीन रूपमा टिकाउन ठोस योजना आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
यस विषयमा सांसद प्रकाश गौतम ले उद्योगलाई पुनः नियमित रूपमा सञ्चालन गर्न संघीय र बागमती प्रदेश सरकारसँग छलफल गरिरहेको बताएका छन्। उनले प्रधानमन्त्री, उद्योगमन्त्री तथा प्रदेश सरकारसँग पनि पहल भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार राजनीतिक हस्तक्षेप, व्यवस्थापनको कमजोरी र आन्तरिक भ्रष्टाचारजस्ता कारणले उद्योग कमजोर बनेको हो। उचित व्यवस्थापन टिम गठन र सुधार गर्न सके उद्योग पुनः चल्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।
उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा गत भदौ १९ देखि २४ गतेसम्म मात्र पाँच दिन उत्पादन सञ्चालन भएको थियो, जस अवधिमा करिब २ हजार ५०० टन क्लिङ्कर र ३० हजार बोरा सिमेन्ट उत्पादन भएको थियो।
गत चैत १३ देखि पुनः क्लिङ्कर उत्पादन सुरु भए पनि कच्चा पदार्थको अभाव र पुरानो बक्यौता भुक्तानी हुन नसक्दा उत्पादन फेरि रोकिएको छ। कोइला खरिदका लागि बोलपत्र आह्वान भए पनि आर्थिक दायित्व पूरा गर्न नसक्दा आपूर्ति हुन नसकेको उद्योगले जनाएको छ।
निमित्त महाप्रबन्धकका अनुसार दैनिक करिब १२० टन कोइला आवश्यक पर्ने भए पनि हाल मौज्दात अभावका कारण उत्पादन केही दिनमै ठप्प हुने अवस्था छ।
हाल उद्योगमा ३१८ जना कर्मचारी कार्यरत छन् भने विद्युत् महसुल र अन्य दायित्व लामो समयदेखि भुक्तानी हुन नसक्दा आर्थिक संकट झन् गहिरिँदै गएको छ।
वि.सं. २०३३ मा स्थापना भई २०४३ सालदेखि उत्पादन सुरु गरेको यो उद्योग पुरानो उपकरण र कमजोर व्यवस्थापनका कारण प्रतिस्पर्धात्मक रूपमा कमजोर बन्दै गएको प्राविधिकहरूको मूल्यांकन छ।
