काठमाडौँ । देशका विभिन्न स्थानमा प्रहरीले चलाएको नियमित गस्ती तथा विशेष अपरेसनका क्रममा लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि खैरो हेरोइन, गाँजा, प्रतिबन्धित औषधि र नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।
काठमाडौँको काठमाडौँ महानगरपालिका–१६ बालाजु चोकबाट ६४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटे पक्राउ परेका छन्।
त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट ३ किलो ३२० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक अजय सिंह पक्राउ परेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा क्याथे प्यासेफिकको उडानमार्फत हङकङबाट आएको बेला पक्राउ परेका हुन्।
लागूऔषध नियन्त्रण ब्युरो र विमानस्थल सुरक्षा कार्यालयको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी, झापाको दमक नगरपालिका–४ चियादोकानबाट खैरो हेरोइन र नगद १३ हजारसहित दुई जना पक्राउ परेका छन्।
सुनसरीको धरान उपमहानगरपालिका–१५ बगरकोटबाट चिकित्सकको सिफारिसमा मात्र पाइने १०८ थान ट्रामाडोल ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्।
यसैगरी, धरान–२, धरान–७, इटहरी–६, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–८ र ललितपुर महानगरपालिका–५ थसीखेल क्षेत्रबाट समेत लागूऔषध, डिजिटल तराजु, नगद तथा विदेशी मुद्रासहित थप व्यक्तिहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सबै पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ।
