वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोष ले पश्चिम एसियामा जारी द्वन्द्वका कारण ऊर्जा बजारमा आएको अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै विश्व आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ। विश्व बैंक सँगको वसन्तकालीन बैठकका क्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा ‘स्ट्रेट अफ हर्मोज’ क्षेत्रमा देखिएको अवरोधले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ।
आईएमएफले युद्धको प्रभावका आधारमा ‘कमजोर’, ‘खराब’ र ‘गम्भीर’ गरी तीन परिदृश्य प्रस्तुत गरेको छ। सबैभन्दा खराब अवस्थाको अनुमान अनुसार विश्व अर्थतन्त्र मन्दीतर्फ उन्मुख हुने देखिएको छ।
प्रतिवेदनअनुसार तेलको मूल्य सन् २०२६ मा प्रति ब्यारेल ११० डलर र २०२७ मा १२५ डलरसम्म पुग्न सक्ने आँकलन गरिएको छ। यद्यपि, मुख्य पूर्वानुमानमा भने सन् २०२६ को दोस्रो अर्धवार्षिकमा मूल्य घटेर औसत ८२ डलरमा झर्ने अपेक्षा गरिएको छ, जुन हालको बजार मूल्यभन्दा कम हो।
आईएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गोरिन्चास ले ऊर्जा आपूर्तिमा देखिएको अवरोध र द्वन्द्व अन्त्यको स्पष्ट मार्ग नदेखिएकाले ‘खराब परिदृश्य’ नै वास्तविक बन्न सक्ने बताएका छन्। उनका अनुसार युद्ध लम्बिँदै गएमा सन् २०२५ मा ३.४ प्रतिशत रहेको विश्व आर्थिक वृद्धिदर घटेर २.५ प्रतिशतमा सीमित हुन सक्छ।
आईएमएफका अनुसार यदि द्वन्द्व नभएको भए प्रविधिमा बढ्दो लगानी, न्यून ब्याजदर र अमेरिकी कर नीतिका कारण विश्व अर्थतन्त्र अझ सुदृढ हुने सम्भावना थियो। तर, युद्ध गहिरिँदै जाँदा र तेलको मूल्य अत्यधिक बढ्दा वित्तीय बजारमा अस्थिरता बढ्ने र विश्वको वृद्धिदर २ प्रतिशतसम्म झर्ने ‘गम्भीर परिदृश्य’ पनि सम्भावित रहेको उल्लेख गरिएको छ।
यो अवस्था सन् २००९ को वित्तीय संकट र कोभिड–१९ महामारीपछिको सबैभन्दा ठूलो आर्थिक मन्दीतर्फ विश्वलाई धकेल्न सक्ने आईएमएफले चेतावनी दिएको छ।
आईएमएफको यो विश्लेषणले विशेषगरी ऊर्जामा निर्भर राष्ट्रहरूलाई आगामी दिनमा थप सतर्क रहन र सम्भावित आर्थिक चुनौती सामना गर्न तयारी गर्न संकेत दिएको छ।
