काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग को आग्रहमा आजदेखि देशभरका ७५३ वटै स्थानीय तहले ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ विभिन्न कार्यक्रमका साथ सञ्चालन गर्न थालेका छन् ।
नागरिकस्तरमा जन्म, मृत्यु, विवाह, बसाइँसराइलगायत व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताह मनाउन लागिएको हो ।
व्यक्तिको कानुनी पहिचान स्थापित गर्न, प्रभावकारी नीति निर्माण गर्न तथा राज्यबाट प्रवाह हुने सेवा सहज रूपमा प्राप्त गर्न व्यक्तिगत घटना दर्ता महत्वपूर्ण आधार मानिन्छ । यही महत्वलाई ध्यानमा राख्दै सबै स्थानीय तहमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको विभागले जनाएको छ ।
सप्ताहअन्तर्गत विद्यालय, स्थानीय संघ–संस्था तथा सरोकारवालाहरूको सहभागितामा सचेतनामूलक कार्यक्रम, अन्तर्क्रिया तथा प्रचार–प्रसार अभियान सञ्चालन गरिनेछ ।
विभागले गत चैतको अन्तिम साता नै परिपत्र जारी गर्दै सबै स्थानीय तहलाई विविध कार्यक्रमसहित सप्ताह मनाउन निर्देशन दिएको थियो ।
