पोखरा मा नयाँ वर्ष २०८३ को अवसरमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्की ले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’मा १८ जना व्यक्ति र ४१ वटा सवारी साधन कारबाहीमा परेका छन्।
मादक पदार्थ तथा लागू औषध सेवन गरी हो–हल्ला गर्ने, सवारी साधनको स्वरूप परिवर्तन (मोडिफाइ) गरी ध्वनि प्रदूषण फैलाउने तथा सार्वजनिक शान्तिमा खलल पुर्याउने गतिविधि बढेपछि प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो।
प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार वैशाख १ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न स्थानमा विशेष निगरानीसहित प्रहरी टोली परिचालन गरिएको थियो। अभियानका क्रममा काहुडाँडा, चाउथे, मेथलाङ र बेगनास क्षेत्रबाट उल्लङ्घनमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको हो।
काहुडाँडाबाट ८ जना र १० सवारी साधन, चाउथेमा ९ सवारी साधन, मेथलाङबाट १३ सवारी साधनसहित ५ जना, तथा बेगनास ताल क्षेत्रमा ८ सवारी साधनमाथि कारबाही गरिएको छ। साथै लागू औषध सेवन गरी सवारी चलाउने एक चालकसहित अन्य ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका व्यक्ति तथा सवारी साधनमाथि थप अनुसन्धान भइरहेको छ। मोडिफाइड सवारी, चर्को आवाज निकाल्ने उपकरण प्रयोग गर्ने र सडकमा स्टन्ट देखाउने गतिविधिलाई प्रहरीले विशेष निगरानीमा राखेको छ।
