नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका मा विपद् जोखिम न्यूनीकरणका लागि २५ जना समुदाय-आधारित विपद् स्वयंसेवक तयार पारिएका छन्। विपद्को अवस्थामा समुदाय नै पहिलो उद्धारकर्ता हुने भएकाले स्थानीय तहले पूर्वतयारीस्वरूप यस्तो जनशक्ति विकास गरेको हो।
गाउँपालिकाले सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म हेडक्वार्टर, पूर्वी नवलपरासीसँगको सहकार्यमा १८ दिनसम्म सघन विपद् प्रतिकार्य तालिम सञ्चालन गरेको थियो। गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार विनयी त्रिवेणी क्षेत्र बाढी, डुबान लगायत विभिन्न प्राकृतिक विपद्को उच्च जोखिममा पर्ने भएकाले यस्तो तालिम अत्यावश्यक रहेको हो। चालु आर्थिक वर्षमा गाउँपालिकाका ७ मध्ये ४ वडाबाट युवाहरू छनोट गरी स्वयंसेवक टोली निर्माण गरिएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले नेपाल–भारत सीमा नजिकको संवेदनशील भौगोलिक अवस्थालाई ध्यानमा राख्दै स्थानीय समुदायको क्षमता अभिवृद्धि गरिएको बताए। उनका अनुसार विपद्को बेला सुरक्षा निकाय मात्र पर्याप्त नहुने हुँदा प्रशिक्षित स्थानीयले क्षति न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न सक्छन्।
तालिम अवधिमा सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासमार्फत प्राथमिक उद्धार, प्राथमिक उपचार र आपतकालीन सतर्कता सम्बन्धी सीप प्रदान गरिएको थियो। सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीका अनुसार स्वयंसेवकहरूलाई आफू सुरक्षित रहँदै अरूलाई सुरक्षित बनाउने दक्षतामा विशेष ध्यान दिइएको छ।
तालिमप्राप्त स्वयंसेवकहरूले विपद्को अवस्थामा तत्काल समुदायलाई सहयोग पुर्याउने, उद्धार कार्यमा सुरक्षा निकायलाई सहजीकरण गर्ने तथा स्थानीय तहको विपद् पूर्वतयारी योजना निर्माणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
