काठमाडौँ। नयाँ वर्षको अवसरसँगै काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा औपचारिक रूपमा सुरु भएको छ। काठमाडौं उपत्यका भित्रका काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ नगरपालिका बीचको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याइएको हो।
यस सेवाले विशेषगरी रातिको समयमा यात्रा गर्ने सर्वसाधारणलाई सुरक्षित र सहज आवागमनको सुविधा दिने अपेक्षा गरिएको छ। प्रारम्भिक चरणमा सात वटा बस सञ्चालनमा ल्याइएका छन्। ती बसहरूमा वाइफाइ सुविधा, सिसीटिभी निगरानी र सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिएको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार बसहरू निर्धारित रुटमा नियमित अन्तरालमा सञ्चालन हुनेछन्। पहिलो चरणमा निम्न रुटहरूमा विद्युतीय बस सेवा सञ्चालन गरिएको छः
लगनखेल ⇄ बुढानीलकण्ठ
थानकोट ⇄ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
लगनखेलदेखि बुढानीलकण्ठसम्मको रुटले पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै सञ्चालन हुनेछ।
यो उत्तर–दक्षिण रुट करिब १६ किलोमिटर लामो (एकतर्फी) रहेको महानगरले जनाएको छ।
