झापा । पूर्वी नेपालका आदिवासी राजवंशी समुदायको सबैभन्दा ठूलो र गौरवमय चाड ‘सिरुवा पावनी’ आजदेखि हर्षोल्लासका साथ सुरु भएको छ । हरेक वर्ष वैशाख १, २ र ३ गते मनाइने यो पर्व राजवंशीसँगै ताजपुरिया र गनगाई समुदायको साझा उत्सवका रूपमा परिचित छ ।
तीन दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘जल सिरुवा’, दोस्रो दिन ‘कादो सिरुवा’ र अन्तिम दिन ‘रङ सिरुवा’ का रूपमा मनाइन्छ । पहिलो दिन एक-अर्कामा पानी छ्यापेर आत्मीयता साटासाट गरिन्छ भने दोस्रो दिन हिलो (कादो) छ्यापेर रमाइलो गरिन्छ । तेस्रो दिन अबिर लगाएर शुभकामना आदानप्रदान गर्ने चलन छ ।
पर्वको पहिलो दिन महिलाहरूले सात प्रकारका हरियो सागसब्जी मिसाएर ‘सात सागी’ नामक विशेष परिकार बनाउने परम्परा छ । यो परिकार दोस्रो दिन ‘पन्ता भात’ (बासी भात) सँग खाने चलन रहेको छ । साथै, औषधीय गुण भएको ‘अठिया केरा’ को सेवन पनि यस पर्वको प्रमुख विशेषता हो, जसलाई पेटसम्बन्धी समस्यामा उपयोगी मानिन्छ ।
वर्षभरि रोगव्याधिबाट मुक्ति मिलोस् भन्ने कामनासहित मनाइने यस पर्वमा सार्वजनिक स्थानमा ‘घाटोसरी’ बनाएर भजन गाउने, ग्रामथान तथा नदी किनारमा पूजापाठ गर्ने र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने प्रचलन रहेको छ ।
राजवंशी समुदायको मुख्य बसोबास झापा, मोरङ र सुनसरी जिल्लामा रहेको छ । २०७८ सालको जनगणनाअनुसार नेपालमा यस समुदायको जनसङ्ख्या १ लाख ३२ हजार ५६४ रहेको छ । ‘सिरुवा पावनी’ ले यस क्षेत्रको सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई अझ मजबुत बनाउँदै आएको छ ।
