इटहरी । सुनसरीको इटहरी उप–महानगरपालिका–६ स्थित धरान स्टेण्ड क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर नगरपालिका–७ निवासी २१ वर्षीय युजिन श्रेष्ठ रहेका छन्।
मंगलबार बिहान करिब ८ बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा पैदल हिँडिरहेका श्रेष्ठलाई शंका लागेर जाँच गरेको थियो। जाँचका क्रममा उनको साथबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल १,५८० क्याप्सुल, डाइसाइक्लोमिन १,५९० ट्याब्लेट र ब्राउन सुगरजस्तो देखिने पदार्थ १.३३ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागू औषधसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
