ओटावा । क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँस्थित नेपाली दूतावासले सक्रिय सहभागिता जनाएको छ ।
आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले आफ्नै स्टलमार्फत नेपालको अनुपम प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा तथा कलात्मक पहिचान झल्काउने विभिन्न सामग्री प्रस्तुत गरेको थियो । स्टलमा पर्यटन प्रवर्द्धनसम्बन्धी प्रचार सामग्री, परम्परागत हस्तकलाका नमुना तथा मौलिक नेपाली उत्पादनहरू प्रदर्शन गरिएका थिए ।
यसका साथै, नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू समेटिएका वृत्तचित्र र प्रवर्द्धनात्मक भिडियोहरू समेत प्रदर्शन गरिएको दूतावासले जनाएको छ ।
उक्त कार्यक्रममा नेपालको सहभागिताले क्यानडेली पर्यटकहरूमाझ नेपालप्रति आकर्षण बढाउने र पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
