रामेछाप । रामेछापको भँगेरीस्थित पुष्पलाल–गङ्गालाल जन्मस्थलमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय को औपचारिक उद्घाटन गरिएको छ। नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, मार्क्सवादी चिन्तक हेमन्तप्रकाश ओली ‘सुदर्शन’, मार्क्सवादी सौन्दर्यशास्त्री प्रा. डा. गोपीन्द्र पौडेल, समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह ‘समरजङ्ग’ र विश्वविद्यालयका परिकल्पनाकार तथा अध्यक्ष अशोक सुवेदीले संयुक्त रूपमा विश्वविद्यालय उद्घाटन गरेका हुन्। उद्घाटनपछि पुष्पलाल–गङ्गालालको सालिक परिसरमा ब्यानर अनावरण गर्दै पाँच दिनसम्म सञ्चालन गरिएको मार्क्सवादी कक्षाको समापन तथा दीक्षान्त समारोह पनि सम्पन्न गरिएको हो।
उक्त कक्षामा पूर्वगभर्नर क्षेत्रीले मार्क्सवादी अर्थशास्त्र, हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले मार्क्सवादी दर्शनशास्त्र, प्रा. डा. गोपीन्द्र पौडेलले मार्क्सवादी सौन्दर्यशास्त्र, महासचिव पूर्णबहादुर सिंह ‘समरजङ्ग’ले वैज्ञानिक समाजवाद र अध्यक्ष अशोक सुवेदीले विश्वविद्यालयको अवधारणा तथा वर्गसङ्घर्षसम्बन्धी विषयमा अध्यापन गरेका थिए। पहिलो ब्याचमा ३० जना विद्यार्थी सहभागी थिए र स्रोतसाधन सीमित भएकाले संख्या बढाउन नसकिएको बताइएको छ।
दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूले किसान, महिला, युवा, मजदुर, स्रष्टा, सञ्चारकर्मी तथा सहिद परिवारका प्रतिनिधिका रूपमा आफूहरूले प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्दै वैचारिक अध्ययन र राजनीतिक चेतनाको विकासलाई महत्वपूर्ण कदमका रूपमा लिएको बताएका थिए।
विश्वविद्यालयका अध्यक्ष अशोक सुवेदीले संस्थालाई वैचारिक अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै मार्क्सवाद–लेनिनवाद–माओवादको अध्ययनलाई व्यवस्थित रूपमा अघि बढाइने बताए। साथै, आगामी दिनमा काठमाडौँमा विज्ञ सम्मेलन आयोजना गरी पाठ्यक्रम परिमार्जन गर्ने र त्यसपछि देशका विभिन्न स्थानमा कक्षा विस्तार गर्ने योजना रहेको जानकारी दिइएको छ।
उनीहरूले रुस, चीन, जर्मनी, कोरिया, क्युबा, भियतनाम, नेपाल, भारत र पेरुलगायत देशहरूको वर्गसङ्घर्षबाट प्राप्त अनुभवलाई अध्ययनको आधार बनाइने बताएका छन्। विश्वविद्यालयले वैचारिक, प्राज्ञिक र व्यवस्थापन समूह गठन गर्ने तयारी पनि गरेको छ, जसले पाठ्यक्रम विकास, अनुसन्धान र कक्षा सञ्चालनमा सहयोग गर्नेछ।
समग्रमा, रामेछापको यो पहललाई आयोजकहरूले नेपालमै पहिलो प्रकारको मार्क्सवादी विश्वविद्यालयको रूपमा प्रस्तुत गरेका छन् र यसलाई वैचारिक शिक्षा तथा राजनीतिक चेतना विस्तार गर्ने दीर्घकालीन परियोजनाका रूपमा अघि बढाउने योजना रहेको बताएका छन्।
