काठमाडौँ । गगन कुमार थापा ले नयाँ वर्ष २०८३ को अवसरमा देश र जनताको हितका लागि सबै राजनीतिक दलहरूले दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
शुभकामना सन्देशमार्फत उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना व्यक्त गर्दै शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपमा समृद्ध राष्ट्र निर्माणका लागि एकजुट हुन आग्रह गरेका हुन्।
उनले नेपाली जनताको लामो त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै आगामी चुनौतीहरू सामूहिक रूपमा सामना गर्नुपर्नेमा जोड दिएका छन्। साथै, सुशासन सुदृढ गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अघि बढ्न यो महत्वपूर्ण समय भएको उल्लेख गरेका छन्।
नयाँ वर्षले आपसी एकता, भाइचारा र सहकार्यलाई अझ मजबुत बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा सुदृढ बनाओस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन्।
