लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानका बन्दरगाहहरूमा नाकाबन्दी गर्ने योजना अघि सारेपछि पश्चिमी सैन्य गठबन्धन नेटो भित्र गम्भीर मतभेद देखिएको छ।
बेलायतका प्रधानमन्त्री केयर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन सहितका प्रमुख युरोपेली नेताहरूले ट्रम्पको सैन्य अभियानमा सहभागी हुन अस्वीकार गरेका छन्। उनीहरूले युद्धमा प्रत्यक्ष संलग्न हुनुको सट्टा द्वन्द्व अन्त्यपछि मात्र हस्तक्षेप गर्ने प्रस्ताव अघि सारेका छन्।
इरानसँग करिब ६ हप्ता लामो द्वन्द्वपछि भएको वार्ता असफल भएपछि ट्रम्पले नाकाबन्दी सुरु भएको घोषणा गरेका थिए। उनले नाकाबन्दी तोड्ने प्रयास गर्ने इरानी जहाजमाथि अमेरिकी सेनाले कारबाही गर्ने चेतावनी दिएका छन्। सुरुमा स्ट्रेट अफ होर्मुज मा पूर्ण नियन्त्रणको कुरा गरे पनि पछि यो नाकाबन्दी इरानी बन्दरगाहमा आवतजावत गर्ने जहाजमा मात्र लागू हुने स्पष्ट पारिएको छ।
यद्यपि, ट्रम्पले अन्य देशहरू पनि नाकाबन्दीमा सहभागी हुने दाबी गरे पनि नेटो सदस्य राष्ट्रहरूले त्यसलाई ठाडै अस्वीकार गरेका छन्। बेलायतले युद्धमा नजाने स्पष्ट अडान लिँदै नाकाबन्दीलाई पनि समर्थन नगर्ने जनाएको छ भने फ्रान्सले युद्ध समाप्त भएपछि मात्रै बहुराष्ट्रिय सुरक्षा मिसन सञ्चालन गर्ने योजना अघि सारेको छ।
यस अवस्थालेनेटो भित्रको एकता कमजोर भएको संकेत देखिएको छ। ट्रम्पले यसअघि नै युरोपेली देशहरूले सहयोग नगरे अमेरिकी सेना फिर्ता लैजाने र गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन्।
नेटो का महासचिव मार्क रुट्टे ले युरोपेली देशहरूलाई अमेरिकाको अपेक्षाबारे जानकारी गराए पनि उनीहरूले तत्काल सैन्य प्रतिबद्धता दिन अस्वीकार गरेका छन्।
यसैबीच, फ्रान्सले बेलायतसहित करिब ३० देशसँग मिलेर स्वतन्त्र समुद्री सुरक्षा मिसन बनाउने तयारी गरेको छ, जसले कुनै पक्ष नलिएर केवल तेल ट्याङ्करहरूको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राख्नेछ।
टर्कीका विदेशमन्त्री हाकान फिदान ले भने कूटनीतिक समाधानमै जोड दिँदै आगामी शिखर सम्मेलनमार्फत अमेरिका र नेटोबीचको सम्बन्ध पुनः परिभाषित गर्नुपर्ने बताएका छन्।
