राष्ट्रिय तथ्याङ्क कार्यालय ले सञ्चालन गर्ने राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलनको काम बुधबारदेखि देशभर एकसाथ सुरु हुँदैछ।
गणनाका लागि छनोट भएका गणक तथा सुपरीवेक्षकहरूलाई पाँच दिनको विशेष तालिम दिई कार्यक्षेत्रमा खटाइएको कार्यालयले जनाएको छ। आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने यस अभियानका लागि बागलुङमा ३३ गणक र पाँच सुपरीवेक्षक परिचालन गरिएको जिल्ला आर्थिक गणना कार्यालय, बागलुङका प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिए। उनका अनुसार चैत २६ देखि ३० गतेसम्म तालिम सम्पन्न गरेर गणकहरूलाई फिल्डमा पठाइसकिएको छ।
यस गणनाले औद्योगिक तथा व्यापारिक संरचनाको वास्तविक अवस्था पहिचान गर्ने, रोजगारी सिर्जनाको अवस्था विश्लेषण गर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा विभिन्न क्षेत्रको योगदान मापन गर्ने लक्ष्य राखेको छ। विश्वसनीय र यथार्थपरक तथ्याङ्क सङ्कलनका लागि गणकहरूलाई विशेष प्रशिक्षण दिइएको बताइएको छ।
जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले यो राष्ट्रिय महत्वको अभियान भएकाले सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। गणनामा वस्तु उत्पादनदेखि सेवा प्रदायकसम्मका औपचारिक तथा अनौपचारिक सबै व्यवसाय समेटिनेछन्।
नेपालमा यसअघि विसं २०७५ मा पहिलोपटक राष्ट्रिय आर्थिक गणना सञ्चालन गरिएको थियो। यसपटक संकलित तथ्याङ्कले आगामी नीति तथा योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
