काठमाडौं । अस्ट्रेलिया ले पहिलोपटक देशको सेना प्रमुखमा महिलालाई नियुक्त गर्ने निर्णय गरेको छ।
लेफ्टिनेन्ट जनरल सुसान कोयल आगामी जुलाईदेखि अस्ट्रेलियाको सेना प्रमुखको जिम्मेवारी सम्हाल्ने भएकी छन्। उनी हालका सेना प्रमुख लेफ्टिनेन्ट जनरल साइमन स्टुअर्ट को स्थान लिनेछिन्।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज ले देशको १२५ वर्षे सैन्य इतिहासमा पहिलोपटक महिला सेना प्रमुख नियुक्त गरिएको बताएका छन्।
रक्षामन्त्री रिचर्ड मार्ल्स ले यस निर्णयलाई ऐतिहासिक भन्दै महिलाका लागि प्रेरणादायी कदम भएको प्रतिक्रिया दिएका छन्।
५५ वर्षीया कोयल सन् १९८७ देखि सेनामा कार्यरत छिन् र उनले यसबीच विभिन्न उच्च पदहरू सम्हालिसकेकी छन्। हाल अस्ट्रेलियाली रक्षा बलमा महिलाको सहभागिता करिब २१ प्रतिशत रहेको छ, जसलाई सन् २०३० सम्म २५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।
हालैका वर्षमा सेनाभित्र यौन उत्पीडन र भेदभावका आरोप उठिरहेका बेला यो निर्णयलाई महत्वपूर्ण मानिएको छ।
