विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ ले विराटनगरबाट भन्सार छली गरी ल्याइएका ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामानसहित दुई वटा अटो टेम्पो बरामद गरेको छ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–६ स्थित क्षेत्रमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिइएको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका दुई अटो टेम्पोमा लोड गरी ल्याइएका सामान फेला पारेको हो।
बरामद सामानमा ठूलो परिमाणमा तयारी लत्ताकपडा तथा खाद्यान्न रहेका छन्। जसमा कुर्ता–सुरुवाल सेट, हाफ कुर्ता, पुरुष भेष्ट, लेडिज टप्स, बच्चाको कपडा, मेक्सी लगायतका वस्तुहरू रहेका छन्। साथै ५ बोरा (१९० केजी) हरियो मटर दाना पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामानको अनुमानित मूल्य ८ लाख ११ हजार ५ सय ५० रुपैयाँ र दुई अटो टेम्पोको मूल्य ३ लाख रुपैयाँ गरी कुल ११ लाख ११ हजार ५ सय ५० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो।
बरामद सामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगर मा बुझाइएको प्रहरीले जनाएको छ।
