काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत् प्रयोग गरेर बक्यौता नतिर्ने ग्राहकहरूलाई नेपाल विद्युत् प्राधिकरण ले कडा कारबाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता महसुल तोकिएको समयभित्र भुक्तानी गर्न उपभोक्ताहरूलाई पुनः आग्रह गरेको छ। साथै, यसअघि जारी गरिएको सूचनालाई आधार मानेर सम्बन्धित शाखामार्फत उद्योगीहरूलाई पत्राचार पनि गरिएको छ।
प्राधिकरणले आफ्ना क्षेत्रीय तथा डिभिजन कार्यालयहरूलाई बक्यौता असुलीमा कडाइ गर्न निर्देशन दिएको छ। यसअघि पटक–पटक सूचना जारी गर्दा पनि केही उपभोक्ताले किस्ताबन्दी रोक्दै केवल नियमित महसुल मात्र बुझाएको पाइएको प्राधिकरणको भनाइ छ।
सूचनामा अदालतबाट अन्तरिम आदेश प्राप्त गरेका बाहेक सबै उपभोक्तालाई बक्यौता तिर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र भुक्तानी नगरे प्राधिकरणको नियमावली अनुसार कारबाही हुने चेतावनी दिइएको छ।
यसअघि विद्युत् नियमन आयोगले विवादित बक्यौता सम्बन्धमा पञ्चकन्या स्टिल्स र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज सम्बन्धी उजुरीमा प्राधिकरणकै पक्षमा फैसला गरेको थियो।
गत असोजमा जारी सूचनापछि २१ दिनभित्र बक्यौता नतिर्ने केही उद्योगको विद्युत् आपूर्ति काटिएको थियो। त्यसपछि केही उद्योगले किस्ताबन्दीमार्फत भुक्तानी सुरु गरे पनि हाल अधिकांशले किस्ता नियमित रूपमा तिरेका छैनन्।
प्राधिकरणका अनुसार केही उद्योगले बक्यौतालाई धरौटीका रूपमा व्याख्या गर्दै आए पनि बक्यौता असुली प्रक्रिया निरन्तर अघि बढाइनेछ।

